
मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ ।
घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट अभियान सञ्चालन गर्नुभएको हो ।
अध्यक्षको तलब सुविधा बापतको रकमबाट ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो ।
पाँच वडा रहेको घरपझोङको सबै बस्तीलाई रातको समयमा उज्यालो बनाउन अध्यक्षले पाउने सेवा सुविधा बापतको रकमबाट ‘स्टेप लाइट’ किनेर विद्युत्को पोलमा जडान गरिएको उहाँले बताउनुभयो ।
वडा नं १ को छैरो, चिमाङ र वडा नं ३ को पुथाङ एयरपोर्ट बाहेकका धेरै ठाउँमा सडकबत्ती जडान भएको छ ।
ठिनी, जोमसोम, एक्केभट्टी, स्याङ र मार्फामा बत्ती जडान गरेर रातको समयमा झिलीमिली बनाइएको छ ।
सडकबत्तीको महसुल गाउँपालिकाले ब्यहोर्ने निर्णय भएको छ । आजभोली घरपझोङका बस्ती रातको समयमा झलमल्ल र मनमोहक देखिन थालेका छन् ।
पर्यटकीय बस्तीको सौन्दर्यकरण र सुरक्षाका लागि चुनावको समयमा गरेको प्रतिबद्धता अनुसार सडकबत्ती जडान गरेको लालचनले बताउनुभयो ।
