भदौ ९ :

प्रधानमन्त्री केपी शर्मा ओलीले दर खाने दिनको शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आज उनले शुभकामना व्यक्त गरेका हुन् । “आजको दिनले हामी सबै माइती र चेलीलाई प्रगाढ पारिवारिक ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस्”,प्रधानमन्त्री ओली लेखेका छन्, “तीजको दर खाने दिन । पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित यस पर्वले विवाहित छोरी र माइती बीचको पारिवारिक मिलापलाई प्रगाढ बनाउँछ ।”

प्रधानमन्त्री ओलीले हिजोको समाजमा आजको जस्तो भौतिक सुविधा नभएको उल्लेख गर्दै हिजो एउटा गाउँबाट अर्को गाउँमा पैदल हिँडेर पुग्नुपर्ने बाध्यता रहेको स्मरण गरेका छन् । “खोलानाला तर्ने पुल थिएनन्, खबर आदानप्रदान गर्ने माध्यमहरू थिएनन् । तीजमा विवाहित दिदीबहिनीहरूलाई लिन जाने चलन थियो । पुरानो पारिवारिक र सामाजिक जीवनका कठिनाइहरू तीजका पुराना गीतमा पाइन्छन् । दर माइती घरमा नै खाने चलन थियो”, उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज संयुक्त परिवार संस्कृतिमा ठूलो परिवर्तन आएको बताएका छन् । “सामाजिक व्यवस्थामा आएको परिवर्तनले महिलामा आत्मनिर्भरता र सशक्तीकरण बढिरहेको छ । त्यसैले दर खाने प्रचलनमा फेरबदल आएको छ । विवाहित छोरीसहित वर्षमा एक दिन भए पनि तीन पुस्तासम्म एउटै छानोमुनि बसेर दर खाँदै आत्मियता साट्ने अवसर हो”, उनले भनेका छन् ।

तीजको अघिल्लो दिन आज माइतीले चेलीबेटीलाई घरमा बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा लिइन्छ ।