काठमाडौं, भदौ १० :

सेवाप्रवाह सहज बनाउन सरकारले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌ प्रशासन समितिमा पठाएको छ ।

प्रशासन समितिले आवश्यक छलफल गरी कार्यान्वयनका लागि अगाडि बढाउनेछ । गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउन एकैपटक ठुलो संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।

सेवाप्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबीच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले जनाएको छ । सेवाप्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबीच असमानता देखिएका ठाउँमा आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ ।