
ईश्वरीदेवी न्यौपानेले संघीय संसद्को संसदीय सुनुवाइ समितिको सभापति पदबाट राजीनामा दिएकी छन्।
नेपाली कांग्रेसले उनलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णयसँगै उनले सभामुख देवराज घिमिरेको सचिवालयमा राजीनामा पत्र बुझाएकी हुन्। राजीनामा पत्रमा उनले सुनुवाइ समितिमा विशेष कारणले पदमा रही रहन नसक्ने व्यहोरा उल्लेख गरेकी छन्।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समितिको रूपमा रहेको सुनुवाइ समितिमा भने अब नयाँ सभापति छान्नुपर्ने छ ।
उनले भनिन्, ‘सुनुवाइ समितिबाट राजीनामा दिएँ।अब राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवार दिन्छु।’ देउवा निवास बुढानिलकण्ठमा मंगलबार बसेको बैठकले न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय गरेको हो ।
रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको सो पदमा कांग्रेसका चारजनाले आकांक्षा देखाएका थिए । सत्ता गठबन्धनको भागबन्डा भएका कारण अन्य दलले उम्मेदवारी नदिने भएका छन् ।
निर्धारित समयभित्र अन्य सांसदले उम्मेदवारी दर्ता नगराए उनी सर्वसम्मत रूपमा सभापति चयन हुने छिन् ।
000
सम्माननीय सभामुख,
प्रतिनिधि सभा ।
मितिः २०८२/०५/१०
विषयः राजीनामा सम्बन्धमा ।
महोदय,
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै / तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु ।
अवगतार्थः
सम्माननीय अध्यक्ष,
राष्ट्रिय सभा
ईश्वरी देवी न्यौपाने
प्रतिनिधि सभा सदस्य
क्रम सङ्ख्या नंः प्र.स./०२५