
सर्वोच्च अदालतले केवल शारीरिक रूपमा निर्वस्त्र हुनु मात्रले अश्लीलता ठहर गर्न नमिल्ने स्पष्ट पारेको छ। पशुपतिमा शिवरात्रिका अवसरमा आउने नागा बाबाहरूको नग्न उपस्थितिमाथि रोक लगाउन माग गर्दै दायर रिटमाथि फैसला गर्दै सर्वोच्चले नग्नता र अश्लीलता फरक विषय भएको व्याख्या गरेको हो।
न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेद्वारा दायर रिट २०७८ भदौ २७ मा खारेज गर्दै पूर्णपाठमा नागा बाबाहरूको गतिविधि सनातन धर्म र वैदिक परम्पराअनुकूल रहेको उल्लेख गरेको छ।
फैसलामा नग्नता वस्त्रविहीन शारीरिक अवस्था भए पनि अश्लीलता भने यौनिक उत्तेजना ल्याउने, सामाजिक रूपमा लाजमर्दो वा आपत्तिजनक क्रियाकलाप वा अभिव्यक्तिको रूपमा मात्रै बुझिनुपर्ने बताइएको छ। कला, शिक्षा, उपचार वा धार्मिक सन्दर्भमा देखिएको नग्नता अश्लील मान्न नमिल्ने सर्वोच्चको तर्क छ।
नागा बाबाहरूको नग्नता धार्मिक आस्था र परम्परासँग जोडिएको हुँदा उनीहरूको गतिविधिलाई अश्लीलता भन्न नमिल्ने फैसलामा उल्लेख छ। साथै, यस्ता गतिविधिबाट महिला, बालबालिका वा समाजमा यौनिक हिंसा फैलिने भन्ने दावी पनि तर्कसंगत नभएको ठहर गरिएको छ।
रिटमा शिवरात्रीमा लागुपदार्थ सेवन गर्दै नग्न रूपमा बस्ने नागा बाबाहरूको गतिविधि रोक्न माग गरिएको थियो। तर सर्वोच्चले धार्मिक स्वतन्त्रताको नाममा उक्त अभ्यासलाई बन्द गर्नुको सट्टा व्यवस्थापन गर्न सकिने सुझाव दिएको छ।