
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान नगरे तुरुन्तै दण्ड वा जरिबाना लाग्ने भन्ने भ्रममा नपर्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ। विभागले तत्काल कुनै किसिमको कारबाही नहुने स्पष्ट पारेको हो।
मंगलबार सार्वजनिक सूचना जारी गर्दै विभागले मिति २०८२ असोज १ गतेपछि पनि इम्बोस्ड नम्बर प्लेट नजडान गरेमा तुरुन्त कारबाही गरिने भन्ने हल्ला निराधार भएको जनाएको छ।
‘इम्बोस्ड नम्बर प्लेट जडान क्रमशः गरिने प्रक्रिया हो। असोज १ पछि पनि तुरुन्त कारबाही गरिने होइन,’ विभागका महानिर्देशक राजिव पोखरेलले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ।
विभागले सवारीधनीलाई आफू अनुकूल समय मिलाएर सवारी दर्ता कार्यालय पुगेर स्वेच्छिक रूपमा नम्बर प्लेट जडान गर्न पनि आग्रह गरेको छ।
यसअघि विभागले सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको र जडान नगरे जरिवाना लाग्ने खबर सार्वजनिक भएको थियो। तर विभागले हाललाई कुनै दण्ड–जरिवानाको व्यवस्था नगरेको स्पष्ट पारेको हो।
इम्बोस्ड नम्बर प्लेटमा प्रयोग भएको अंग्रेजी लिपिबारे उठेको प्रश्नका सन्दर्भमा विभागले सवारी चालक अनुमतिपत्र, राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्रमा पनि अंग्रेजी लिपि प्रयोग हुँदै आएको स्मरण गराउँदै त्यसलाई वैधानिक ठहर गरेको छ।
विभागले डिजिटल प्रणालीतर्फ यातायात क्षेत्रलाई लैजान सुरु गरिएको उल्लेख गर्दै, इम्बोस्ड नम्बर प्लेट जडान कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन भइरहेको जनाएको छ।