काठमाडौं, भदौ ११ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीप्रति जनताको भरोसा पुनः बढेको दाबी गरेका छन् । कर्णाली प्रदेशको पूर्ण बैठकमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले पछिल्ला विभिन्न निर्वाचनमा कांग्रेस-एमाले मिल्दा पनि माओवादीनिकट उम्मेदवारहरूको विजयले जनविश्वास पुनः प्राप्त हुँदै गएको उल्लेख गरे ।

उनले स्थानीय तह, स्ववियु, पत्रकार महासंघलगायत हालै सम्पन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा माओवादी केन्द्रनिकट उम्मेदवारहरूको विजयलाई जनविश्वासको प्रतीकको रूपमा उल्लेख गरे । उनले भने, ‘हाम्रो पार्टी र संगठनप्रति जनताको आशा र भरोसा बढ्दो छ । कांग्रेस, एमाले एकातिर र माओवादी केन्द्र एक्लै भए पनि धेरै स्थानमा हामी विजयी भएका छौं ।’

अध्यक्ष दाहालले माओवादीको बढ्दो लोकप्रियताले प्रतिक्रियावादी र दलालहरूलाई आतंकित बनाएको दाबी गरे । उनले पार्टीभित्र द्वन्द्व सिर्जना गर्न विभिन्न षड्यन्त्र भइरहेको जनाउँदै गुटबन्दी, अराजकता र अनुशासनहीनताको अन्त्य गर्दै पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने स्पष्ट संकल्प स्थायी समितिले गरिसकेको जानकारी दिए ।

पार्टीमा गुटबन्दी गर्न नदिने अध्यक्ष दाहालको प्रतिबद्धता

शिक्षा विधेयकलगायत विभिन्न राष्ट्रिय मुद्दामा माओवादी केन्द्रले लिएको अडानले जनस्तरमा सकारात्मक सन्देश पुगेको उल्लेख गर्दै उनले विशेषतः शिक्षक समुदायमा माओवादी केन्द्रप्रति समर्थन बढेको बताए । ‘कांग्रेस र एमालेको गलत सोचको विरुद्धमा हामीले लिएको अडानका कारण लाखौं शिक्षकले समर्थन देखाएका छन्,’ उनले भने ।

दाहालले वाईसीएल, विद्यार्थी संगठनलगायत जनवर्गीय संगठनलाई श्रम र उत्पादनसँग जोड्न गरिएको प्रयास सफल भइरहेको दाबी गर्दै संगठन विस्तारलाई अझ तीव्र बनाउनुपर्नेमा जोड दिए । ‘अब घर-घरमा पुग्ने, टोल-टोलमा संगठन निर्माण गर्ने कार्यलाई तीव्र बनाउनुपर्छ,’ उनले निर्देशन दिए ।

अध्यक्ष दाहालले कर्णाली प्रदेशका नेता-कार्यकर्ताहरुलाई पार्टी एकता र संगठन विस्तारमा अग्रसर भई राष्ट्रिय राजनीति परिवर्तन गर्न भूमिका खेल्न आग्रह गर्दै बैठक सफलताको शुभकामना दिए ।