
रुपन्देही-३ मा कात्तिक १७ गते संघीय संसद्को उपनिर्वाचन हुँदै छ । गत चैत १९ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक बोहोराको निधन भएकाले उक्त निर्वाचन क्षेत्र खाली भएको हो ।
यो निर्वाचनलाई सत्ता गठबन्धन (एमाले-कांग्रेस) ले प्रतिष्ठाको विषय बनाएका छन् भने गठबन्धनलाई चुनौती दिन मधेसकेन्द्रित राजनीतिक दल एक ठाउँमा उभिने प्रयास गरेका छन् । राप्रपाले निर्वाचन जितेको क्षेत्र भए पनि उसको प्रभाव खासै देखिएको छैन । बरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तयारी भने लोभलाग्दो देखिएको छ ।
२०७९ मंसिर १० गते भएको निर्वाचनमा पाँचदलीय गठबन्धनबाट कांग्रेसका बालकृष्ण खाँण र एमाले, राप्रपा र जनता समाजवादी पार्टी (जसपा) का साझा उम्मेदवार बोहोराबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला कांग्रेस उम्मेदवार खाँणलाई २६ सय ८१ मतान्तरले पछि पार्दै राप्रपा उम्मेदवार बोहोरा निर्वाचित भएका थिए ।
बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाँणले ३४ हजार ३६ मत पाएका थिए । त्यसबेला रास्वपाका उम्मेदवार जितबहादुर गुप्ताले ५७ सय ९६ मत पाएका थिए । प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सन्तोष पाण्डे र एमालेका तुलसीप्रसाद चौधरी निर्वाचित छन् ।
बुटवल उपमहानगरपालिकाको १४, १५, १६, १७, १८ र १९ वडा, मायादेवी गाउँपालिकाको ७ र ८ वडा, ओमसतिया गाउँपालिकाको २ नम्बर वडा, सिद्धार्थ नगरपालिका, सियारी गाउँपालिकाको १, २, ३, ६ र ७ वडा, शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिकाको १३ र १४ वडा यो निर्वाचन क्षेत्रमा पर्छ ।
स्थानीय तहको परिणाम
बुटवल उपमहानगरपालिकाको ६ वटा वडामा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा भएको थियो । १४, १८ र १९ वडामा एमालेले जितेको छ भने १५, १६ र १६ वडामा कांग्रेस निर्वाचित छ । उनीहरुबीचको प्रतिस्पर्धामा खासै ठुलो मतान्तर देखिँदैन । वडा नं. १८ मा १९ मत बढी ल्याएर एमाले उम्मेदवार निर्वाचित भएका थिए भने वडा १९ मा ३२ मत बढी ल्याएर एमाले निर्वाचित भएको थियो ।
मायादेवी गाउँपालिकाको २ वटा वडामध्ये एउटामा एमाले झन्डै नील (शून्य) भएको थियो । त्यहाँ लोकतान्त्रिक समाजवादी पार्टीले १३ सय ४९ मत प्राप्त गर्दा कांग्रेसले ८६७ मत प्राप्त गरेको छ । एमालेका उम्मेदवारले जम्मा १५ मत मात्र पाएका थिए । तर वडा नम्बर ८ मा भने एमाले उम्मेदवार ७४२ मत ल्याएर निर्वाचित भएका छन् । त्यहाँ कांग्रेस उम्मेदवारले ५३५ मत पाएका थिए ।
ओमसतिया गाउँपालिका २ चाहिँ राप्रपाको पकड क्षेत्र हो । राप्रपा उम्मेदवारले एक हजार ७३८ मत प्राप्त गर्दा एमालेले ६६६ र कांग्रेसले ३३३ मत पाएका थिए ।
सिद्धार्थ नगरपालिका कांग्रेसको पकड क्षेत्र हो । कांग्रेसबाट निर्वाचित यसका मेयरले ९ हजार १३४ मत प्राप्त गर्दा राप्रपाले ८ हजार १३७ मत पाएको थियो । एमाले उम्मेदवारले ७ हजार ३ सय ७ मत पाएका थिए । १३ वटा वडा रहेको यो नगरपालिकामा ५ वटा कांग्रेस, ४ वटा एमाले, ३ वटा राप्रपा र एउटा जसपाले जितेको छ ।
सियारी गाउँपालिकाको ५ वडा यो निर्वाचन क्षेत्रमा पर्छ । यो ५ वडामध्ये एमाले-कांग्रेस २-२ र एउटा राप्रपाले जितेको छ । वडा नम्बर १ मा राप्रपाको संगठन बलियो मानिन्छ । राप्रपा उम्मेदवारले १ हजार ७९ मत प्राप्त गर्दा एमालेले ६१४ र कांग्रेसले ५३५ मत प्राप्त गरेको थियो । ३ र ७ मा कांग्रेस निर्वाचित छ भने २ र ६ मा एमाले निर्वाचित छ ।
शुद्धोधन गाउँपालिकामा कांग्रेस निर्वाचित छ । पालिका अध्यक्षमा कांग्रेस उम्मेदवारले ७ हजार ९ सय ८३ मत प्राप्त गर्दा एमाले उम्मेदवारले ६ हजार २ सय ७० मत पाएका थिए । यो पालिकामा ७ वटा वडा छन् । त्यसमध्ये ५ वटा वडा कांग्रेसले जितेको छ भने एमाले र जसपाले १-१ वडामा निर्वाचित छन् । रमाइलो के छ भने जसपाले जितेको वडामा कांग्रेस उम्मेदवार १ मतले पराजित भएका हुन् । जसपाका उम्मेदवारले ९ सय ९२ मत पाएका थिए भने कांग्रेस उम्मेदवारले ९ सय ९१ मत ल्याएका थिए ।
तिलोत्तमाका १३ र १४ नम्बर वडा यो निर्वाचन क्षेत्रमा समेटिएको छ । दुवै वडामा राम्रै मतान्तरले कांग्रेस निर्वाचित भएको छ ।
समग्र स्थानीय तहमा कांग्रेस बलियो देखिन्छ । यो निर्वाचन क्षेत्रमा ३६ वटा वडा समेटिएको छ । त्यसमध्ये १७ वटा वडामा कांग्रेस निर्वाचित छ भने एमालेले ११ वटा वडा जितेको छ । यसैगरी राप्रपा ५, जसपा २ र लोसपा १ वडामा निर्वाचित छ । यसकारण पनि वडा तहमा कांग्रेस बलियो छ भन्न सकिन्छ ।
यो निर्वाचन क्षेत्रमा कांग्रेस बलियो छ भन्ने अर्को प्रमाण हो समानुपातिक मत । यो निर्वाचन क्षेत्रबाट कांग्रेसले २० हजार २ सय ७१ मत पाएको छ । एमालेले १६ हजार ९ सय ८६ मत पाउँदा रास्वपाले १४ हजार १ सय ५४ मत पाएको तथ्यांकले देखाउँछ ।
राप्रपाले ९ हजार १८३ मत पाएको छ भने रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टीले ६ हजार १० मत, जसपाले ५ हजार २ सय ९१, लोसपाले ५ हजार ५३ र माओवादी केन्द्रले २ हजार ६ सय ३७ मत पाएको छ । माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टीले ७ सय ८१ मत पाएको छ ।
वर्तमान अवस्था
विगतमा जेजस्तो परिणाम आए पनि अहिले मतदाताको मनोविज्ञान परिवर्तन भएको सञ्चारकर्मी सुरेश गैरे बताउँछन् । उनी भन्छन्, ‘यो निर्वाचन क्षेत्रको राजनीतिक परिदृश्य नै परिवर्तन भइसकेको छ । सत्तारुढ दल आन्तरिक विवादमा रुमालिएका छन् भने मधेसकेन्द्रित राजनीतिक दलहरु विभाजित छन् ।’
एमाले लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच ‘इगो’ समस्या छ । उनीहरुबीचको टसल ०७९ को निर्वाचनबाटै सुरु भएको हो । महासचिव पोखरेल दाङबाट पराजित हुनुमा उपाध्यक्ष पौडेलको भूमिका देख्छन् । महासचिव पोखरेलले यसको बद्ला पूर्वमुख्यमन्त्री लीला गिरीमार्फत् लिइसकेका छन् । उनले गिरीलाई विस्थापित गरेर चेतनारायण आचार्यलाई अगाडि बढाएका छन् ।
महासचिव पोखरेलको दादागिरीलाई डिमोरलाइज गर्ने उपयुक्त अवसरको पर्खाइमा उपाध्यक्ष पौडेल छन् । सम्भवतः रुपन्देही-३ को निर्वाचन उपाध्यक्ष पौडेलको बद्ला लिने उपयुक्त अवसर हुनसक्छ ।
कांग्रेस संगठनभित्र एमालेभन्दा झन् ठूलो समस्या देखिन्छ । त्यो निर्वाचन क्षेत्रमा कांग्रेस र बालकृष्ण खाँण पर्याय हुन् । त्यस क्षेत्रका मतदाताले कांग्रेस भनेको बालकृष्ण खाँणलाई मात्र चिन्छ । भुटानी शरणार्थी काण्डका दागी खाँणलाई उम्मेदवार बनाउन कांग्रेसलाई नैतिक संकट छ भने कांग्रेसको अर्को उम्मेदवार त्यहाँका मतदाताले चिन्दैनन् ।
मधेसी मोर्चाले साझा उम्मेदवार उठाउने निर्णय गरेको थियो । नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारलाई मोर्चाले सहयोग गर्ने निर्णय भएको थियो । तर यो निर्णयको मसी सुक्न नपाउँदै सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले उम्मेदवार दिने घोषणा गरिसकेको छ ।
रविको जेल स्थानान्तरण र रास्वपा
सहकारी ठगी र संगठित अपराध अभियोगमा रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही जेलमा राखिएको थियो । सभापति लामिछानेले राजनीतिक भेटघाट तीव्र पारेको बुझेपछि नख्खु जेलमा स्थानान्तरण गरियो । पार्टी सभापति लामिछानेले रुपन्देही-३ को निर्वाचनका लागि सहज वातावरण बनाइदिएको बुझिएको छ ।
प्रत्यक्ष निर्वाचनमा थोरै मत ल्याए पनि समानुपातिकमा उत्साहजनक मत बटुलेको रास्वपाले उम्मेदवार छनोटबाट पनि मतदातालाई प्रभावमा पारेको छ । निवेदन संकलन गरेर उक्त निर्वाचन क्षेत्रमा उम्मेदवारले दिनसक्ने योगदानको कार्ययोजनासमेत रास्वपाले मागेको छ ।
यी राजनीतिक दलबाहेक केही स्वतन्त्र उम्मेदवार पनि चर्चामा छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको सचिवालयका ओमप्रकाश अर्यालको पनि उम्मेदवार बन्ने चर्चा त्यत्तिकै छ ।
सत्तारुढ दलभित्रको आन्तरिक विवाद, मधेसकेन्द्रित राजनीतिक दलमा विग्रह र उत्साहित रास्वपाका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले दिने चुनौतीले रुपन्देही-३ मा कुन राजनीतिक दलको उम्मेद्वार विजयी हुन्छन् त्यो अहिले नै अनुमान लगाउन हतार हुनेछ ।