डडेल्धुरा, भदौ १२ :

डडेल्धुराको नवदुर्गा गाउँपालिका ५, चौडको कच्ची सडकबाट करिब पाँच सय मिटर तल भिरमा जिप खसेको छ ।

सदरमुकामतर्फ आउँदै गरेको से.१ज ७३८ नम्बरको जिप भिरबाट खस्दा चार जनाको मृत्यु हुनुका साथै अरु चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार जिप दुर्घटनामा घाइते हुनेमा नवदुर्गा गाउँपालिका ५ की १८ वर्षीया सुशीला विक, ४ वर्षीय प्रतीक पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक र ३५ वर्षीय जिपचालक रामबहादुर साउद छन् । घाइते सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।