काठमाडौं, भदौ १२ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले अध्यक्ष केपी शर्मा ओलीकै सल्लाहमा सक्रिय राजनीतिमा फर्किएको दाबी गरेका छन्।

बिहीबार बिहान विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले भण्डारीको पार्टी सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीकै सल्लाहमा भएको बताएका हुन्। उनले भने, ‘भण्डारीजी सक्रिय राजनीतिमा आउन चाहनुभएको कुरा स्पष्ट छ। सदस्यता नवीकरणदेखि चीन भ्रमणसम्म सबै ओलीजीकै सल्लाहमा भएको हो।’

उनका अनुसार ओली र भण्डारीबीच उनलाई पार्टी अध्यक्ष बनाउनेबारे पनि पहिले कुराकानी भएको थियो। तर चीन भ्रमणपछि के भयो भन्ने कुरा आफूलाई थाहा नभएको उनले स्पष्ट पारे।

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपति पदमा रहेकाले राजनीतिमा फर्किन नहुने भन्ने तर्क संविधानविपरीत भएको बताउँदै नेपालको संविधानले यस्तो कुनै प्रतिबन्ध नराखेको स्पष्ट गरे।

उनले अन्तर्राष्ट्रिय उदाहरण दिँदै राष्ट्रपति भएर पनि प्रधानमन्त्री वा मेयर बनेका थुप्रै उदाहरण रहेको बताए। त्यसैले पूर्वराष्ट्रपतिले राजनीति गर्न हुँदैन भन्ने कुरा ‘कुतर्क’ भएको उनको भनाइ छ।

त्यसै विषयमा दुई वर्षअघि एमाले अध्यक्ष ओलीले पनि यस्तै भनाइ दिएका भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रचण्डले भण्डारीसँग हालसालै कुनै संवाद वा भेटघाट नभएको पनि बताए।