काठमाडौं, भदौ १२ :

प्रतिनिधिसभाले भदौ महिनाको दोस्रो पाक्षिक क्यालेन्डर तयार पारेको छ ।विभिन्न पाँच वटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने गरी क्यालेन्टर तयार गरेको हो । भदौ महिनामा १८ गते, १९ गते, २५ गते, २६ गते र २७ गते प्रतिनिधिसभाको बैठक बस्ने तय भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकको बैठकले भूमि, विद्यालय शिक्षा, नागरिकता, निजामती र संवैधानिक परिषद् विधेयक पारित गर्ने सहमति जनाउँदै संसद्को तालिका तय गरेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार शुक्रबार(भोलि) को प्रतिनिधिसभा बैठकले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्नेछ ।  प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दैछ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै भदौ १८ गते बस्ने प्रतिनिधिसभाको बैठकले नागरिकतासम्बन्धी विधेयक पारित गर्नेछ । सोही दिन राष्ट्रपति कार्यालयबाट फिर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने सम्भावित कार्यसूची तय भएको पनि मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।

यस्तै संघीय निजामती सेवा विधेयक यही भदौ १९ गते प्रतिनिधिसभाबाट पारित गर्ने कार्यतालिका रहेको छ ।राष्ट्रिय सभाले यही भदौ १६ गतेभित्र प्रतिनिधि सभामा उक्त विधेयक फिर्ता गरिसक्नुपर्छ ।

यस्तै भदौ २६ गते विद्यालय शिक्षा विधेयकलाई पारित गर्ने सम्भावित क्यालेन्डर तय गरेका छन् । शिक्षा समितिले पास गरेर उक्त विधेयकलाई भदौ ६ गते प्रतिनिधिसभामा पेस गरिसकेको छ ।