
भारतले आतंकवादी संगठन जैश-ए-मोहम्मदसँग सम्बन्धित भनी दाबी गरेका तीन पाकिस्तानी नागरिक नेपाल हुँदै मलेसिया फर्किएका छन् ।
हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान साउन २३ गते (अगस्त ८) मा दुबईबाट काठमाडौं आएका थिए। उनीहरू अध्यागमन विभागको कालोसूचीमा नरहेको र कुनै आपत्ति नदेखिएकाले निर्वाध नेपाल प्रवेश गरेका थिए ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार मोहम्मद उस्मान साउन ३० (अगस्ट १५), आदिल हुसैन भदौ ८ (अगस्ट २४) र हसनैन अली भदौ १२ (अगस्ट २८) मा मलेसिया फर्किएका हुन् ।
भारतले उनीहरू नेपाल हुँदै बिहार प्रवेश गरेको दाबी गर्दै नाम र तस्बिर सार्वजनिक गरेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार बिहारका सीमावर्ती जिल्लाहरूमा उच्च सुरक्षा सतर्कता जारी गरिएको छ ।
तर अध्यागमन रेकर्डअनुसार उनीहरू नेपालबाट मलेसिया फर्किएको पुष्टि भएको छ भने उनीहरू यसबीचमा कहाँ गए भन्ने विवरण खुलेको छैन ।