
आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्दैछ । आजको बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित कार्यसूची प्रकाशित गरिसकेको छ ।
कार्यसूची अनुसार प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेछन् ।
यस्तै सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची सार्वजनिक गरिएको छ ।
यस्तै भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिने कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ ।