अछाम, भदौ १४ :

अछाममा महिनावारी भएका बेला छाउगोठमा बस्ने अहिले पनि प्रचलन कायम छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका ५, लयाटीको आलीटोलमा महिला तथा किशोरीहरू महिनावारी (छाउपडी) भएको समयमा गोठमा बस्ने गर्दछन् ।

जिल्लामा अभियान सञ्चालन गरेर ढुंगा माटोले बनाइएका छाउगोठ भत्काइए पनि यहाँका महिलाहरू घरबाट केहीपर जस्तापाताको गोठ बनाएर बस्ने गरेका छन् । जिल्लामा रहेका सरोकारवाला निकायद्वारा गरिएको अनुगमनका क्रममा आलीटोलका प्रत्येक घरमा जस्तापाताले बनाइएको छाउगोठ निर्माण गरिएको पाइएको हो । आफूहरू महिनावारी हुँदा घरमा बसेपछि देवीदेउता रिसाउँछन् डरले घरबाट टाढा बस्नुपरेको स्थानीय महिलाले बताएका छन् ।

अनुगमनका क्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले आलीटोलका स्थानीयलाई भेला गराएर तत्काल छाउगोठ भत्काउन अनुरोध गरे । छाउगोठ नभत्काए पालिकाबाट पाउने सेवासुविधामा रोक लगाइने उनको भनाइ छ ।

अछामको पञ्चदेवल विनायक ८, बारलाको सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मंगलसेन नगरपालिका ६ की ३६ वर्षीया रत्ना भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारीको घरनजिकै त्रिपाल टाँगी बनाइएको छाउगोठमा सुतिरहेको अवस्थामा टहराभन्दा माथि भिरबाट खसेको ढुङ्गा लागेर शुक्रबार घटनास्थलमै मृत्यु भएको थियो ।

सोही त्रिपालमा महिनावारी भएर सुतिरहेकी रत्ना सख्त घाइते भइन् । रत्ना आफ्नो माइती घर बारला गएकी थिइन् ।

महिनावारीमा छुवाछुतको व्यवहार हुनु कानुनले वर्जित गरेको विषय हो । महिनावारीको नाममा कुनै पनि विभेद् गरेको पाइएमा प्रहरी प्रतिवेदनको आधारमा मुद्दा चलाइने प्रमुख जिल्ला अधिकारी आनन्द सारुले बताए । तत्काल जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा छाउगोठ भत्काइने उनले जानकारी दिए ।

यस क्षेत्रमा महिनावारी भएका बेला दूध-दही खान नदिने चलन अझै कायम । गाई र भैँसीको दूध-दही र मोही महिनावारी भएका बेला दिँदा गाईवस्तु बाँझो हुन्छन् भन्ने अन्धविश्वासले महिला तथा किशोरीलाई दूध दिइँदैन ।