
नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशताको असन्तुष्टी नेकपा एमालेभित्र भुसको आगोझै भित्रभित्रै दन्किरहेको छ । विधान महाधिवेशन नजिकिएका बेला असन्तुष्टिको स्वरले पार्टीभित्र भुसको आगो दन्किरहेको छ ।
यो असन्तुष्टिको स्वरलाई पूर्वराष्ट्रपति विद्या भण्डारीले समेट्ने प्रयास गरेकी छन् । योभन्दा बढी चटपटाए भीम रावल बनाइ दिने चेतावनी अध्यक्ष ओलीले विद्यालाई दिएसकेका छन् । तर ओलीले सोचेजस्तो रावललाई झै विद्यालाई कारबाही गर्न त्यति सजिलो छैन ।
ओली विरूद्ध विधा पक्षधरहरू बढ्दै गएको र असन्तुष्टिको स्वर चर्कीन थालेपछि एमाले केन्द्रीय कमिटी बैठक अनिश्चित बनेको एमालेका एक नेताले बताए । दोस्रो विधान महाधिवेशनअघि पेस हुने प्रतिवेदनमा छलफल र पारित गर्नका लागि केन्द्रीय कमिटी बैठक बस्नुपर्ने भए पनि असन्तुष्टिको आवाज ठूलो सुनिन थालेपछि बैठकै नबसी प्रस्तावित विधानसहितका प्रतिवेदनलाई महाधिवेशन हलमा लगिने सम्भावना बढेको ती नेताको भनाई छ ।
२० देखि २२ भदौमा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदैछ । महाधिवेशनमा विधान मस्यौदा, राजनीतिक, सांगठनिकसहित पार्टीले गठन गरेका विभिन्न चार आयोगका प्रतिवेदन पेस हुँदैछन् । त्यसमा छलफलका लागि हिजो शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको थियो । तर बैठक स्थगित गरेर प्रधानमन्त्री ओली चीन भ्रमणमा निस्केका छन् ।‘केन्द्रीय कमिटीको बैठक १९ भदौमा बस्नसक्छ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘केन्द्रीय कमिटीको बैठक बस्न नसके अरू कुनै कमिटी (सचिवालय, पोलिटब्युरो)को बैठक बस्छ, त्यो पनि नभए प्रतिवेदनहरू सिधै विधान महाधिवेशन हलमा जान्छ ।’
ईश्वरले फरक प्रतिवेदन पेस गर्ने
विधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फरक मतसहितको प्रतिवेदन पेस गर्ने तयारी गरिरहेका छन् । यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले लिखित प्रतिवेदन नल्याएपछि एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीनिकटका नेताहरूले प्रतिवेदन लिखित रूपमै केन्द्रीय कमिटी बैठकमा पेस हुनुपर्ने अडान लिएका छन् ।
ओलीले पार्टी विधानबाट ७० वर्षे उमेर हद र पदाधिकारीमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था हटाउन खोजेका छन् । यसअघि केन्द्रीय कमिटीबाट विधान मस्यौदाको प्रतिवेदन पारित गराइसकेका छन् । तर, भण्डारीनिकट नेताहरू ७० वर्षे उमेर हदबन्दी र पदाधिकारी दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था राख्ने पक्षमा उभिँदै आएको छन्।
साउन पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले एमाले पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय ग¥यो । तर, पूर्वराष्ट्रपतिसमेत रहेकी भण्डारीलाई राजनीतिमा फर्किनबाट रोक्न नहुने भन्दै उनीनिकटका नेताले आवाज उठाउँदै आएका छन् ।
अपानी अब धोती
भदौ ८ गते पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञावली र सुरेन्द्र पाण्डे तथा पोलिटव्यूरो सदस्य कर्ण थापा सहभागी भए ।
पूर्वराष्ट्रपति भण्डारी सहभागी कार्यक्रममा नेता कार्यकर्ता सहभागी नहुन एमालेले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरिसकेको थियो । एउटा समूहले पार्टीको निर्देशन धोती लगाइ दिएपछि एमालेभित्र नेतृत्वलाई चुनौती दिने बलियो शक्ति स्थापित भएको अर्थ लगाइएको छ ।
साइड लगाउने खेल सुरु
साउन २ गतेको सचिवालय बैठकबाटै यी चार नेता कारबाहीमा परिसकेका छन् । विधान महाधिवेशनमा प्रस्ताव जाने र ११ औं महाधिवेशनले औपचारिकता दिनेछ । साउन १ गते मध्यरातसम्म चलेको बैठकले एमाले सचिवालय नै खारेज गर्ने निर्णय गरेको थियो । सचिवालयको ठाउँमा पदाधिकारी रहनेछन् ।
१९ सदस्यीय सचिवालय घटाएर १५ सदस्यीय पदाधिकारी बनाइएको छ । अहिलेसम्म अध्यक्ष र महासचिव मात्र पदाधिकारी बन्ने निश्चित भएको छ । बाँकी को–को पदाधिकारी बन्छन् भन्ने निश्चित छैन । उपमहासचिव एकजना, उपाध्यक्षबाट ५ र सचिवबाट ७ जना चयन गर्ने अनौपचारिक छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । तर त्यो अनौपचारिक निर्णयले औपचारिकता पाउने सम्भावना न्यून रहेको विकसित घटनाक्रमले देखाइसकेको छ ।
पार्टीमा अहिले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष ज्ञावली, पाण्डे, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल र गुरुप्रसाद बराल (६), महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल (३) जना र सचिवहरु लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छवीलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल (७) जनाको सचिवालय छ । यो सचिवालयका एकजना सदस्य सचिव टोपबहादुर रायमाझी निलम्बनमा छन् ।
११ औं महाधिवेशनपछि १९ सदस्यीय सचिवालय समिति १५ सदस्यीय पदाधिकारीमा रुपान्तरण हुनेछ । यो १५ सदस्यीय पदाधिकारी नै स्थायी समितिमा रुपान्तरण हुनेछ । यो १५ सदस्यीय पदाधिकारीमा उपाध्यक्षहरु ईश्वर पोखरेल, युवराज ज्ञावली, सुरेन्द्र पाण्डे र सचिवहरुमध्ये योगेश भट्टराई वा गोकर्ण विष्टमध्ये एकजना अटाउने छैनन् । भट्टराई वा विष्ट पोटिल्यूरोमा समेटिने छन् भने पोखरेल, ज्ञावली र पाण्डेको हैसियत संगठित कार्यकर्ताभन्दा माथि हुने छैन् ।
विद्याको योजना
थापागाउँमा रहेको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयमा एघारौं महाधिवेशनमा अध्यक्ष ओलीबाट नेतृत्व कसरी खोस्ने भन्ने योजना बनिरहेको छ । विधान महाधिवेशनपछि अध्यक्ष ओली कसरी अगाडि बढ्न सक्छन् त्यही हिसाबको रणनीति थापागाउँमा तयार भइरहेको बताइएको छ ।
उनीहरुको पहिलो योजना अध्यक्ष ओलीलाई टक्कर दिन पूर्वराष्ट्रपति भण्डारीलाई नै अगाडि सार्ने रहेको छ । कानुनी अड्चन आए ईश्वर पोखरेललाई अगाडि सार्ने तयारी उनीहरुको छ । ‘विद्या भण्डारीको सदस्यता नवीकरण भएको छ, नवीकरण भएकोलाई सदर गर्नुपर्छ । उहाँ पार्टी सदस्य भएर क्रियाशील हुन्छु भन्दा क्रियाशील बनाउनुपर्छ । बरु, पार्टीले काम दिएर जिम्मेवारी दिनुपर्छ,’ उपाध्यक्ष ज्ञवालीले भने ।
एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले भण्डारीको राजनीतिक सक्रियता नरोकिने स्पष्ट पारेका छन् । सक्रिय हुनुपर्ने कुरामा कसैको अनुमति लिनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ । हामी मृत्यु रोजेर, जेल रोजेर जनताको लागि अघि बढेका व्यक्ति हौँ, राजनीति गर्दा देश छोड्नुपर्ने हो वा कसैले देश निकाला गर्छ ? नागरिकता खोस्न सक्छ कसैले ?’ थापाले भने ।
अध्यक्ष ओलीलाई नेता मिलाउन सकस
एमालेभित्र अध्यक्ष ओली खेमाविरुद्ध देशव्यापी रुपमा बढेको असन्तुष्टीलाई बेलैमा सम्वेधन गर्न सकेनन् भने ओलीको आडभरोसाका चर्चित नेताहरु समेत विद्या भण्डारी खेमामा नपुग्लान् भन्न सक्ने अवस्था छैन । विपरित ध्रुवका केही नेतालाई अध्यक्ष ओलीले मिलाउन सकेनन भने उनको योजना सफल नहुने निश्चित छ ।
कोशी प्रदेशमा एमाले संगठन नै विद्याको पक्षमा छ । मधेश प्रदेशमा ओली र विद्या समूहको झगडा सतहमै आइसकेको छ । मधेश प्रदेश इन्जार्च योगेश भट्टराईले समन्वयको भूमिका निर्वाह गरिरहेका छन् । योगेशलाई खुशी राख्न अध्यक्ष ओलीले धेरै प्रयास गरिरहेका छन् । योगेश विद्यातर्फ ढल्के भने त्यहाँ पनि ओली पक्ष कमजोर देखिने छ ।
लुम्बिनी र गण्डकीका नेता मिलाउन अध्यक्ष ओलीका लागि सबैभन्दा ठूलो चुनौति देखिएको छ । लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई मिलाउनुपर्ने छ भने गण्डकीमा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीलाई मिलाउनुपर्नेछ । यी चारै नेतालाई सन्तुष्ट राख्न अध्यक्ष ओलीका धेरै कठिन हुने बताइन्छ । एक समय विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ विद्यातर्फ खुलिसकेका थिए
कर्णाली र सुदूरपश्चिमको अवस्था पनि त्यस्तै छ । कर्णालीमा एमाले संगठन खासै गतिलो छैन । यद्यपि अध्यक्ष ओलीको निरंकुशभन्दा विद्याको पक्षमा खुल्ने नेता धेरै छन् । सुदूरपश्चिममा माओवादीबाट आएका लेखराज भट्टले कर्ण थापा र भीम रावलको चुनौति थेग्न सक्ने अवस्था छैन ।
विधान महाधिवेशनपछि अध्यक्ष ओलीको ‘एक्सन’ र विद्याको रणनीतिले एमालेको एघारौं महाधिवेशनमा ठूलै हलचल मच्चिने पक्का छ ।