वीरगन्ज, भदौ १४ :

नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज शनिबार पर्साको वीरगन्ज पुगेकी छन्।

काठमाडौँबाट बाराको सिमरा विमानस्थल हुँदै उनी वीरगन्ज पुगेकी हुन्। विमानस्थलमा एमाले नेता-कार्यकर्ताहरूले भव्य स्वागत गर्दै उनलाई ५१ किलोको माला लगाइदिएर सम्मान गरेका थिए। स्वागतमा स्थानीय महिला दिदीबहिनीहरूको पनि उल्लेख्य उपस्थिति थियो।

पूर्वराष्ट्रपति भण्डारी उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेकी हुन्। कार्यक्रममार्फत उनले महिला उद्यमशीलता र आर्थिक सशक्तिकरणका विषयमा धारणा राख्नेछिन्।

एमालेले पार्टी सदस्यता खारेज गरे पनि भण्डारी राजनीतिबाट पछि हटेकी छैनन्। उनले यही भदौ ५ गते काठमाडौँको थापागाउँमा नयाँ सम्पर्क कार्यालय स्थापना गर्दै आफ्ना राजनीतिक गतिविधिहरू थप सक्रिय बनाएकी छन्।

भण्डारीको हालको गतिविधिले एमालेभित्रको आन्तरिक समिकरणमा नयाँ बहस सुरु भएको छ भने उनका समर्थकहरूले उनलाई पुनः नेतृत्व भूमिकामा फर्काउने अभियानलाई तिव्रता दिएका छन्।