थियानजिन, भदौ १४ :

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेर लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतसँगको सहमतिप्रति आपत्ति जनाएका छन् ।

शनिबार दिउँसो केहीबेर भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई बाइपास गरेर नेपाली भूमिलाई लिएर भएको सहमतिप्रति आपत्ति जनाएको प्रधामन्त्रीको भनाइ उद्धृत गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले बताए ।

‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालको हो, प्रधानमन्त्री ओलीले भने, ‘ यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ।’ नेपाली भूमि लिपुलेकलाई माध्यम बनाएर चीन र भारतबीच भएको सहमतिको सडक र सदनदेखि चौतर्फी विरोध भएको छ ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँगको भेटवार्ता फलदायी भएको प्रतिक्रिया दिए्। शनिबार थियानजिन अतिथि गृहमा भएको महत्वपूर्ण भेटवार्तापछि प्रधानमन्त्री ओलीले लगातार दोस्रो वर्ष राष्ट्रपति सीलाई भेट्न र द्विपक्षीय वार्ता गर्ने अवसर प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरे।

भेटवार्तामा, नेपाल र चीन बीचका विभिन्न मुद्दाहरूको प्रगतिबारे समीक्षा गरिएको र द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउन सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री ओलीले एससीओ (शाङ्गहाई सहयोग संगठन) शिखर सम्मेलनमा आमन्त्रित गरेकोमा राष्ट्रपति सीलाई धन्यवाद दिएका छन्।प्रधानमन्त्री ओली आजै आफ्नो औपचारिक भ्रमणको सिलसिलामा चीन पुगेका हुन्। उनीसँग नेपाल सरकारका मन्त्रीहरू र उच्च अधिकारीहरू सहभागी छन्।