काठमाडौं, भदौ १४ :

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई निर्णायक शक्ति बनाउनेगरी विधान संशोधनको तयारी भइरहेको जानकारी दिएका छन्।

उनले शनिबार आयोजित प्रेस चौतारी नेपालको अन्तरसंवाद कार्यक्रममा पार्टीको आगामी विधान महाधिवेशनमा सुधार र परिमार्जन गरिने बताएका छन्।

भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनमा, पार्टीको गन्तव्य निर्धारण गर्न र समाजवादी नेतृत्वको समृद्ध नेपाल र सुखी नेपालीको दृष्टिकोणलाई विधानमा समावेश गरिने छ। उपमहासचिव ज्ञवालीले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको मुद्दा अब आकांक्षा मात्र रहेन, हाम्रो गन्तव्य हो, विधानमै त्यो कुरा समेटेर अघि बढ्छौं।’

ज्ञवालीले एमालेलाई थप एकताबद्ध बनाई, पार्टीलाई निर्णायक शक्ति बनाउने लक्ष्यमा काम भइरहेको प्रष्ट पारे। उनले भने, ‘वर्तमान अवस्थामा एमालेलाई थप एकतावद्ध बनाई निर्णायक शक्ति बनाउनेगरी पार्टी नेतृत्व काम गरिरहेको छ।’ 

यसले पार्टीलाई सांगठनिक र राजनीतिक दृष्टिले बलियो बनाउन सहयोग पुर्याउने छ। साथै, ज्ञवालीले एमालेको शक्ति सुदृढ गर्न बाम शक्तिको एकता आवश्यक रहेको भन्दै पार्टीलाई बलियो बनाउन स्वार्थरहित एकता चाहिएको बताए। उनले भने, ‘हामी देशको प्रमुख शक्ति हौं, विगतमा पार्टीबाट केही समूह बाहिर नगएको भए निर्णायक शक्ति बनिसक्थ्यौं।’

पार्टीको विधान संशोधनको तयारीसँगै, उनले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टीको अभिभावकीय भूमिकामा राख्ने निर्णय पनि प्रष्ट पारे। उनका अनुसार, ‘पूर्व राष्ट्रपति हाम्रो पार्टीको उच्च सम्मान र आदारका पात्र हुनुहुन्छ, उहाँलाई देशको अभिभावककै रूपमा हेर्ने चाहना छ।’

विधान महाधिवेशनको तयारी तीव्र पारिएको बताउँदै, उपमहासचिव ज्ञवालीले २ हजार ३५० प्रतिनिधिहरूको सहभागिता रहने जानकारी दिए। उनले विधानमा धेरै संशोधनभन्दा पनि पार्टीको गन्तव्य निर्धारण गर्नेगरी परिमार्जन हुने स्पष्ट पारे ।