
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याएकी छन् ।
उनले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजा सहित गौरा भित्र्याएकी हुन् । यसअघिका वर्षहरुमा गौरा पुजनका लागि उनी धनगढी जाने गरेकामा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण भइरहेकाले काठमाडौंमै गौरा भित्र्याएको राणाको सचिवालयले जनाएको छ ।
हरेक वर्ष भाद्र सप्तमीका दिन बाजागाजासहित गौरा भित्र्याउने गरिन्छ । विभिन्न वनस्पतिबाट बनेको गौराको मूर्तिलाई देवी पार्वतीको प्रतीकका रुपमा धार्मिक अनुष्ठानका साथ गौरा घर एवं मन्दिरमा भित्र्याउने प्रचलन छ ।
उनले गौरा पर्व सुदूरपश्चिमेलीहरूको विशिष्ठ सांस्कृतिक गौरव भएको र आफू प्रत्येक वर्ष निष्ठापूर्वक व्रत बसी गौरा पूजा गर्ने गरेको बताए । राणाले गौराले सामाजिक एकता, सहिष्णुता र भाइचाराको सम्बन्ध स्थापित गर्ने पनि बताइन् ।
भाद्र शुक्ल पञ्चमीको बिरुडा पञ्चमीबाट सुरु भई अष्टमीसम्म गरिने गौरा पूजामा महिलाहरु निराहार व्रत बसी शिव र गौरीको पूजाअर्चना गर्ने गर्छन् । गौरा पर्व महिलाहरूले सौभाग्य, सुख, शान्ति र समृद्धिका लागि गरिने धार्मिक अनुष्ठान रहेको विश्वास गरिन्छ । गौरा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा विशेष रुपमा मनाउने गरिन्छ ।