काठमाडौं, भदौ १५ :

चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी ओलीले धान उत्पादन विशेष क्षेत्रको अवलोकन-भ्रमण गरेका छन् ।

सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागी हुन हिजो (शनिबार) चीन पुगेका प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलले आइतबार बिहान जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेका हुन् । भ्रमणमा नेपाली प्रतिनिधिमण्डल टोलीका सबै सदस्य सहभागी रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

टोलीमा ओलीका साथ उनकी पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा र उच्चस्तरीय सरकारी अधिकारीहरू छन् ।