
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा. गोविन्द केसीले आजदेखि २३ औं सत्याग्रह सुरु गरेका छन् ।
सरकारले चिकित्सा शिक्षातर्फ (एमबीबीएस) को सिट संख्या बढाएको विरोधमा डा. केसीले धनगढीको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ दिने सत्याग्रह थालेका हुन् । सिट संख्या थप गर्ने निर्णय फिर्ता लिन सरकारले चासो नदिएपछि सत्याग्रहको बाटो रोज्न बाध्य भएको डा. केसीले बताएका छन् ।
चिकित्सा शिक्षा आयोगले १०० सिट संख्या तोकेको सबै निजी मेडिकललाई सिट बढाएर १३० पुर्याएको छ। सरकारीमा भने सिट बढेको छैन्। आयोगको २१औं बैठकले एमबीबीएसमा ४९५ सिट थपेर २,६३५ पुर्याएको छ। बीडीएसको सिट ६२५ बनाइएको छ।
डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधारको माग राखेर २०६९ देखि पटक-पटक अनसन बस्दै सरकारलाई खबरदारी र ध्यानाकर्षण गराउँदै आएका छन् ।
यस्ता छन् ४ बुँदे माग :
१. प्रम ओली र चिकित्सा शिक्षा आयोगको गलत ढंगले निजि मेडिकल कलेजहरुलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिन, शुल्क वृद्धि नगर्न, सम्झौता अनुरुप इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पतालसेवा र शैक्षिक कार्यक्रम सुरु गर्न।
२. एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धि र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धि ऐन पारित गर्न, ऐन अनुरुप मेडिकल शिक्षालाई गैर नाफामूलक बनाउने र सरकारी अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न लगायतका सबै सम्झौता र मागहरु कार्यान्वयन तथा पुरा गर्न।
३.लिपुलेखमा अतिक्रमण बन्द गरि नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र सो कार्यको सुनिश्चितता
गर्न नेपाल सरकारसँग माग गरिन्छ।
४.युक्रेन र गाजामा भइरहेको नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायल समक्ष माग गरिन्छ।