कञ्चनपुर, भदौ १६ :

अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए ।

त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लाका १५ घर डुबावनमा परेका छन् । उनका अनुसार भीमदत्त नगरपालिका–११ स्थित भुजेलामा पनि पाँच घर डुबानमा परेका छन् ।  ‘दोधारा चाँदनीमा जोडबुढा नदी बस्तीमा पस्दा २५ घर डुबानमा पर्दा ७० जना विस्तापित भएका छन्, उहाँहरूलाई नजिककैको विद्यालयमा राखिएको छ ।’ उनले भने, ‘डुबानमा परेका परिवार र चौपायालाई सुरक्षित स्थानमा सारिएको छ ।’

दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका घरपरिवारका ५५ जना, उनका सरसामान र चौपायासमेत नजिककैको जमुना आधारभूत विद्यालयमा राखिएको उनले बताए ।

अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले नदीमा पानीको सतह बढेर एक लाख ४० हजार २५० क्युसेक पुगेको बताए । नदीमा पानीको बहाव एक लाख क्युसेकपुपछि भारतीय पक्षले आवागमनमा रोक लगाउँदै आएको छ ।