काबुल, भदौ १६ :

अफगानिस्तानमा सोमबार राति गएको शक्तिशाली भूकम्पका कारण ६२२ जनाको मृत्यु भएको छ भने १५ सय भन्दाबढी घाइते भएका छन्। भूकम्पपछि प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको छ।

अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीका अनुसार कुनार प्रान्तमा ६१० जनाको मृत्यु र १,३०० जनाभन्दा बढी घाइते भएका छन्। नङ्गरहार प्रान्तमा १२ जनाको मृत्यु र २२५ जनाभन्दा बढी घाइते भएका छन्। भूकम्पका कारण सयौँ घरहरु भत्किएका छन्।

सोमबार मध्यरातअघि गएको भूकम्पको कम्पन अफगान राजधानी काबुलदेखि पाकिस्तानको इस्लामाबादसम्म महसुस गरिएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षण संस्थाका अनुसार भूकम्पको केन्द्रबिन्दु नङ्गरहारको जलालाबाद शहरबाट २७ किलोमिटर टाढा र ८ किलोमिटर गहिराइमा थियो। सतह नजिक केन्द्र भएकोले भूकम्पको प्रभाव बढी परेको हो। भूकम्पपछि राति ११:३० बजे ५.२ म्याग्निच्युडको परकम्पसहित कैयौँ कम्पनहरू महसुस गरिएको थियो।

राष्ट्रसंघ र तालिबान सरकारको उद्धार प्रयास

तालिबान प्रशासन र संयुक्त राष्ट्रसंघले तत्काल उद्धार टोली परिचालन गरेका छन्। ‘अफगानिस्तानको पूर्वी क्षेत्रमा आएको विनाशकारी भूकम्पले सयौँ मानिसको ज्यान गएको खबरले हामी गहिरो दुःखमा छौं,’ राष्ट्रसंघले सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ। राष्ट्रसंघले प्रभावित क्षेत्रमा आपतकालीन सहयोग र जीवनरक्षक सहायता प्रदान गरिरहेको जनाएको छ।

भूकम्प र बाढीको दोहोरो मार

भूकम्पभन्दा केही दिनअघि, शुक्रबारदेखि शनिबारसम्मको भीषण बाढीले नङ्गरहार प्रान्त प्रभावित भएको थियो। सो बाढीमा पाँच जनाको मृत्यु हुनुका साथै बाली तथा सम्पत्तिमा ठूलो क्षति पुगेको थियो।

अघिल्ला भूकम्पहरू झन् विनाशकारी

भूकम्पका लागि संवेदनशील मानिने हिन्दुकुश क्षेत्र युरेसियन र भारतीय प्लेटहरूको संगम स्थल हो। यसअघि: सन् २०२२ जुनमा पक्तिका प्रान्तमा आएको ५.९ म्याग्निच्युडको भूकम्पमा १,००० भन्दा बढीको मृत्यु भएको थियो।

सन् २०१५ मा अफगानिस्तान र पाकिस्तानमा गएको ७.५ म्याग्निच्युडको भूकम्पमा ३८० जनाको मृत्यु भएको थियो। त्यसमा विद्यालय भवन हल्लिँदा भागदौडका क्रममा १२ अफगान किशोरी विद्यार्थीको ज्यान गएको थियो।

संकटसँग जुध्दै अफगानिस्तान

चार दशक लामो द्वन्द्वले जर्जर भएको अफगानिस्तान अहिले पनि गहिरो मानवीय संकटको सामना गरिरहेको छ। तालिबानको सत्तारूढपछि विदेशी सहायता कटौती हुँदा आपत्‌कालीन व्यवस्थापन क्षमतामा समेत गम्भीर असर परेको छ।