
गण्डकी प्रदेशको मनाङ क्षेत्र नम्बर १ (२) मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि भदौ १९ गतेदेखि २५ गतेसम्म दल दर्ता खुला गरिएको छ।
निर्वाचन आयोगले सूचना जारी गर्दै कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयभित्र दल दर्ता निवेदन पेस गर्न आह्वान गरेको हो।
पूर्व प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा दोषी ठहरिएर कारागार चलान भएपछि उक्त पद रिक्त भएको र सोही रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।
दल दर्ताका लागि राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन पेस गर्नुपर्नेछ। साथै, दलको संक्षिप्त र पूरा नाम, स्थापना मिति, केन्द्रीय कार्यालय र पत्राचार ठेगाना, सम्पर्क विवरण (फोन, इमेल, वेबसाइट, सामाजिक सञ्जाल), केन्द्रीय तथा प्रदेश–जिल्ला तहका पदाधिकारी र सदस्य संख्या उल्लेख गर्नुपर्नेछ।
त्यस्तै, दलको पछिल्लो वार्षिक लेखा परीक्षण प्रतिवेदन, केन्द्रीय समितिबाट उम्मेदवार मनोनयनको अधिकार प्रदान गरेको निर्णयको प्रतिलिपि, उम्मेदवारलाई पत्र दिने पदाधिकारीको विवरण, र संविधानको धारा २६९(४) अनुसारको प्रतिबद्धता पत्र पनि संलग्न गर्नुपर्नेछ।
यदि दल नयाँ बनेको हो वा अन्य दलसँग गाभिएको हो भने, आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनमा साविक दलहरूको विवरण पनि समावेश गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ।