काठमाडौं, भदौ १७ :

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशन बसेका डा. गोविन्द केसीले  अनशन तोडेका छन्। उनले मंगलबार दिउँसो २ बजे गेटा मेडिकल कलेजमा उपचाररत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर अनशन तोडेका हुन्।

गत आइतबारदेखि सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएको थियो। मुटुको चालमा गडबडी, मांसपेशी दुख्ने, शरीर बाउडिने जस्ता लक्षण देखिए पनि उनले थप उपचार गर्न नमानेको उनका सहयोगी डा. अमृत जैसीले जनाए।

डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै सत्याग्रह सुरु गरेका थिए। उनका अनुसार मापदण्ड नपुगेका निजी मेडिकल कलेजलाई सिट दिने निर्णयले शिक्षा र स्वास्थ्य दुवैको गुणस्तर खस्किन्छ।

उनले भनेका छन्, ‘सिट वृद्धि गर्दा नेताहरू र माफियाको झोला भरिन्छ, तर आम नेपालीको स्वास्थ्यमाथि खेलबाड हुन्छ।’

चिकित्सा शिक्षा आयोगले साउन ३० मा निजी मेडिकल कलेजलाई एमबीबीएसमा १३० सिटसम्म दिने निर्णय गरेपछि उनले अनशन थालेका थिए। डा. केसीले  आयोगका पछिल्ला निर्णयले विद्यार्थी र जनताभन्दा माफिया लाभान्वित हुने अवस्था सिर्जना गरेको आरोप लगाएका छन् ।

यस्ता छन् मागहरु :

निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने।

इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज र अस्पताल खोल्नुपर्ने।

गेटा मेडिकल कलेजमा निर्माण भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तुरुन्त सञ्चालन गर्नुपर्ने।

अघिल्ला सम्झौता अनुसारको एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक शिक्षा नीति, र दरबन्दी सम्बन्धी प्रावधान कार्यान्वयन गर्नुपर्ने।

डा. केसीले विगतमा पनि चिकित्सा शिक्षा सुधारका लागि पटक–पटक अनशन बसेका छन्, र हरेकपटक उनका मागलाई लिएर देशभर चासो सिर्जना हुने गरेको छ।