काठमाडौं, भदौ १८ :

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता सम्बन्धी विषय महाधिवेशनको एजेन्डा बन्न नसक्ने स्पष्ट पारेका छन् ।

बुधाबार आयोजित पत्रकार सम्मेलनमा उनले विधान महाधिवेशनमा पार्टीको दस्तावेजमाथि मात्र छलफल हुने वैधानिक व्यवस्था रहेकाले उक्त विषयमा फरक मत राख्न नमिल्ने तर्क प्रस्तुत गरे ।

‘पार्टी कमिटीको निर्णयमाथिको फरक मत विधान महाधिवेशनमा छलफलको विषय बन्ने छुट छैन,’ महासचिव पोखरेलले भने । 

पार्टी उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पार्टी केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यताबारे फरक मत राखेको तर्फ इङ्गित गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । 

उनीहरुले विधान महाधिवेशनमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको कुरा जोडतोडका उठाउने तयारी गरेका छन् ।
यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेले दोस्रो राष्ट्रिय विधान अधिवेशन गर्दैछ।