
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले योग्यता र सक्षमताका हिसाबले कर्णालीको अवस्था निराशाजनक नरहेको बताएका छन् ।
लोक सेवा आयोगको हीरक जयन्तीका अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रममा उनले देशभरिमा आयोगको उत्कृष्ट दशभित्र कर्णाली पर्न सफल भएको बताए । उनका अनुसार सिफारिस भएका उम्मेदवारको जिल्लागत तथ्याङ्क हेर्दा दैलेख सातौँ, सुर्खेत तेह्रौँ, रुकुमपश्चिम चौधौँ, जुम्ला बिसौँ, सल्यान ४१औँ, कालीकोट ४३औँ, जाजरकोट ४७औँ, हुम्ला ६३औँ, मुगु ७१औँ र डोल्पा ७२औँ स्थानमा रहेको छ ।
अध्यक्ष रेग्मीले भने, “लोक सेवा आयोग विद्यार्थीमाझ पुर्याएर यसको पद्धति र प्रक्रियाबारे जानकारी गरी आयोगप्रति सकारात्मक धारणा विकास गराउने उद्देश्यले यो कार्यक्रम देशैभरि गरिएको छ । आयोगले योग्यता, निष्पक्षता र स्वच्छताको सिद्धान्तअनुसार अगाडि बढ्ने भएकाले यसमा भनसुन हुन्छ भन्ने भ्रम नराख्नुस् । दबाब र प्रभावबाट मुक्त हुन अरू सुतेपछि आयोग जाग्दछ ।”
कार्यक्रममा सहभागी दश जिल्लाका सदरमुकाम केन्द्रित पालिका प्रमुखलाई आयोगसम्बन्धी गोष्ठी सञ्चालन गर्न सुझाउँदै उनले देशका ७५३ पालिका र सात हजार वडासम्म आयोगबारे जानकारी दिन आवश्यक रहेको बताए । अध्यक्ष रेग्मीले आजको कार्यक्रमबाट सिकेका कुरा विद्यालयमा पुगेर प्रधानाध्यापकसँगको समन्वयमा सबैलाई बताउन पनि सहभागी विद्यार्थीलाई सुझाव दिए ।
कार्यक्रममा आयोग केन्द्रीय कार्यालयका सहसचिव पुरुषोत्तम शर्माले आयोगको स्थापना, कार्य प्रकृति, काम, कर्तव्य र अधिकारबारे आफ्नो प्रस्तुति राख्दै योग्यता, निष्पक्षता, स्वच्छता, पारदर्शिता, गोपनीयता, समान अवसर, समावेशिता र परिचय शून्यतामा रहेर यसले काम गर्दै आएको बताए । उनका अनुसार पछिल्लो समय आयोगले अप्टिकल मार्क पहिचान (ओएमआर) प्रविधिको प्रयोग गर्दै आएको छ ।
यस्तै लोक सेवा आयोग सुर्खेतका कार्यालय प्रमुख सहसचिव रुद्रबहादुर कार्कीले आयोगको सुर्खेत कार्यालयको लिखित परीक्षा सञ्चालन गर्ने कार्य क्षेत्र, कार्य प्रक्रिया र हालसम्म भएका कार्यसम्पादनबारे प्रस्तुति राखेका थिए ।
विषयविज्ञ तारकबहादुर केसी र देवीदत्त भट्टले सहभागी विद्यार्थीलाई आयोगले सोध्ने प्रश्नावली, यसको प्रक्रिया र अध्ययनशैलीबारे सहजीकरण गरे ।
कार्यक्रममा आयोगका सदस्य दिनेश सिलवाल, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादव, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठ, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय, कर्णालीका दश जिल्लाका दश पालिका प्रमुख, २० छात्रा र ३० छात्रको सहभागिता रहेको थियो ।