
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । बिहीबार विज्ञप्तिमार्फत महासंघले सरकारको यो निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने भन्दै आपत्ति जनाएको छ ।
सरकारले बिहीबार फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि महासंघले जनताको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न नहुने विज्ञप्तिमा उल्लेख गरेको छ ।
सामाजिक सञ्जाल नियमनको पक्षमा महासंघ रहेको जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापि स्वीकार गर्न नगर्ने स्पष्ट पारेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, 'कुनै विकल्पबिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकामा महासंघ आश्चर्य प्रकट गर्दछ ।' महासंघले तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ ।