
विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुक सञ्चालक कम्पनी मेटाले नेपाल सरकारसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातहरूको विवरण माग गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाका प्रतिनिधिले मन्त्रालयका मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेलमार्फत सो जानकारी मागेका हुन्।
प्रवक्ता ठाकुरले भने,‘पौने ५ बजे तिर मेटाका एक प्रतिनिधिले मन्त्रीज्यूका विज्ञ सल्लाहकारलाई कम्पनी दर्ताका लागि आवश्यक पर्ने कागजातबारे जानकारी माग्दै इमेल पठाउनुभएको रहेछ। हामीले उक्त इमेल प्राप्त भएको पाँच मिनेटभित्रै सामाजिक सञ्जाल प्लेटफर्म दर्ताका लागि आवश्यक पर्ने सम्पूर्ण कागजातको विवरण पठाइसकेका छौं।’
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई हालसम्म सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चालनमा रोक लगाउन पत्राचार गरिसकेको छ। यो निर्णयसँगै सामाजिक सञ्जालको भविष्यबारे चासो र चर्चा व्यापक बनेको छ। सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई नेपालमा दर्ता हुनुपर्ने व्यवस्था लागु गर्दै गएको छ।