काठमाडौं, भदौ २० :

सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि ट्विटर (एक्स)ले नेपालमा दर्ता हुन चासो देखाएको छ। 

मन्त्रालयका अनुसार, एक्सले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा इमेलमार्फत सम्पर्क गर्दै दर्ता प्रक्रियाबारे जानकारी मागेको हो।

मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले एक्सको सिंगापुरस्थित कार्यालयबाट एलिजा मार्को नामक प्रतिनिधिले इमेल पठाएको पुष्टि गरे। उनले भने, ‘नेपालमा दर्ता हुन आवश्यक कागजातबारे सोधिएको छ, र मन्त्रालयले जवाफ पनि पठाइसकेको छ।’ यद्यपि, एक्सले अहिलेसम्म आधिकारिक निवेदन भने दिएको छैन।

यसअघि मेटा (फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी) सरकारी अधिकारीसँग सम्पर्कमा आइसकेको छ भने ‘हाम्रो पात्रो’ दर्ता प्रक्रियामा अगाडि बढिसकेको छ।

सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउने निर्णय कार्यान्वयन गरिरहेको छ। मन्त्रालयले दर्ता नगर्ने प्लेटफर्महरूमाथि बन्द गर्ने प्रक्रिया अघि बढाइरहेको स्पष्ट पारेको छ।

सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने बहि सरकारको बिहीबारको निर्णयसँग दूरसञ्चार प्राधिकरणले पनि मातहतका निकायहरुलाई सूचना पठाएर बन्द गर्न निर्देशन दिइसकेको छ । तदअनुरुप वर्डलिङ्कलगायतका इन्टरनेट कम्पनीहरुले सरकारको सूची अनुसार सामाजिक सञ्जालहरु बन्द गरेका छन् ।