काठमाडौं, भदौ २० :

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा  लिपुलेक, कालापानी, लिम्पियाधुराका बारेमा  कुरा गर्ने बताएका छन् ।

एमालेको दोस्रो विधान महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै ओलीले कालापानी क्षेत्रको सीमा विवादबारे भारतसँग कुरा गर्ने बताएका हुन् । नेपालका लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतीय सेनाको नियन्त्रणमा रहेको छ । 

चीन भ्रमणका क्रममा पनि प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भेट हुँदा लिपुलेक भएर चीन र भारतबीच व्यापार गर्नेबारे भएको सम्झौताबारे  कुरा उठाएका थिए । चिनियाँ राष्ट्रपतिले कालापानी क्षेत्रको विवाद नेपाल र भारतबीचको भएको बताएको पनि ओलीले उल्लेख गरेका छन् ।

ओलीले भने, ‘हामी भारतसँग पनि कुरा गर्नेछौं, यो समस्याको समाधान गर्नुपर्ने त भारतसँग नै हो।’  ओलीले राष्ट्रको इज्जत, प्रतिष्ठा र हितमा केन्द्रित भएर विदेश भ्रमण  गरेको पनि बताए ।

'चिनियाँ राष्ट्रपतिले हामी नेपालको सार्वभौमसत्ताको पूरा सम्मान गर्छौं ।  तपाईंहरूको राष्ट्रको सार्वभौमसत्तामा तलमाथि पर्नेछैन,' चिनियाँ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै ओलीले भने ।