काठमाडौं, भदौ २२ :

 हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।

सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यसैगरी आज राति कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका तराई भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदि नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्व तयारी गर्न अनुरोध गरेको छ ।