
नेपाल सरकारले सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्न नभई व्यवस्थित, मर्यादित र जवाफदेही बनाउने उद्देश्यले सूचीकरण प्रक्रिया अघि बढाएको स्पष्ट पारेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सामाजिक सञ्जाल सूचीकरण प्रक्रिया तीव्र बनाइएको जनाएको छ।
विज्ञप्तिअनुसार, गत भदौ १२ गते सात दिनको समयसीमा दिइएपश्चात् सम्पर्कमा नआएका सामाजिक सञ्जालहरूलाई नेपालभित्र निष्क्रिय पारिएको छ। ‘हाम्रो पात्रो’ र ‘ग्लोबल डायरी प्रालि’ सूचीकरण भइसकेका छन् भने ‘एक्स’ र ‘भी च्याट’ ले आवश्यक जानकारी मागेका छन्।
मन्त्रालयले सूचीकरण नभएका सञ्जालहरू प्रयोगमा असुरक्षा र जोखिम हुने भन्दै नागरिकहरूलाई भीपीएन प्रयोग नगर्न आग्रह गरेको छ। सूचीकरण प्रक्रिया निःशुल्क रहेको जनाउँदै मन्त्रालयले सूचीकृत भएपछि सम्बन्धित सञ्जालहरू पुनः सक्रिय गरिने जानकारी दिएको छ।
मन्त्रालयले सरकारको निर्णय कार्यान्वयनमा सबै सरोकारवाला निकाय र आम नागरिकलाई सहयोग गर्न अपिल गरेको छ।