
न्यून आक्रामक शल्यक्रिया (Minimally Invasive Surgery MIS)को प्रवर्द्धनमा सहयोग पुर्याउने उद्धेश्यले दुई दिने सम्मेलनको आयोजना गरिएको छ ।
नेपाल सोसाइटी अफ गाइनकोलोजिकल एण्ड एन्डोस्कोपीले ललितपुरमा आयोजना गरेको सो सम्मेलनमा न्यून आक्रामक शल्यक्रिया एमआईएस सम्बन्धी नवीनतम प्रविधि,ज्ञान आदान–प्रदान तथा भविष्यमा आवश्यक सहकार्यका विषयमा छलफल गरियो ।
सम्मेलनबाट आएका सुझावहरूले नेपालमा ल्यापारोस्कोपिक शल्यक्रियाको स्तरलाई अझ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा नेपाल सोसाइटी अफ गाइनकोलोजिकल एण्ड एन्डोस्कोपीका अध्यक्ष प्रा.डा.गणेश दंगालले कुनै पनि महिलाको पेट चिर्नु नपरोस् भन्ने सपना भएको बताउदै बिरामीहरूको जीवन कम आक्रामक,अझ सुरक्षित र प्रभावकारी शल्यक्रियाबाट सुधारिने लक्ष्य नै सफलता भएको बताउनुयो ।
सो अवसरमा सभामुख देवराज घिमिरेले शल्य चिकित्सा क्षेत्रमा आफ्नो जीवन भर योगदान पुर्याएवापद प्रा.डा. सानु मइया दलि र डा. लता बज्राचार्यलाई आजीवन योगदान पुरस्कार प्रदान गर्नुभयो ।
सम्मेलनमा व्यक्त भएको ऊर्जा र संकल्पलाई निरन्तरता दिँदै नेपालमा न्यून आक्रामक शल्यक्रिया एमआईएस प्रविधिलाई अझ सुदृढ बनाइने,नयाँ शल्य प्रतिभा विकास गरिने र देशभर यसको पहुँच विस्तार गरिनुपर्नेमा यससंग सम्बन्धित व्यक्तिहरुले प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सांसद प्रा.डा.चन्दा कार्की, प्रतिष्ठित चिकित्सकहरु,अन्तर्राष्ट्रिय विज्ञहरु लगायतको उपस्थिति रहेको थियो ।