
सोमबार माइतीघरमा जेनजीले गर्न लागेको प्रदर्शनबारे सुरक्षा रणनीति बनाउन जिल्ला सुरक्षा समितिको बैठक बसेको छ ।
आइतबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गर्दै प्रदर्शनमा अपनाइने सुरक्षा रणनीतिहरु तय गरेको बताईएको छ ।
सोमबार सबल गौतम र पुरुषोत्तम यादवको संयोजकत्वमा माईतीघरमा प्रदर्शन हुदैछ। प्रदर्शनमा युवाहरूको स्वतन्त्र रुपमा सहभागिता हुने बताइएको छ ।
स्थानीय प्रशासनले पनि उनीहरूलाई प्रदर्शन गर्न अनुमति दिइसकेको छ ।
२८ वर्षभन्दा मुनिको उमेर समूहका युवा पुस्ताले गर्ने प्रदर्शनमा घुस पैठ हुन सक्ने प्रहरीको बुझाई छ । त्यसैले सुरक्षा रणनीति अपनाइएको बताइएको छ ।
प्रदर्शनको नाममा महत्त्वपूर्ण संस्थाहरूमा तोडफोड र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास भए कारबाही गर्ने प्रहरीको तयारी छ ।
दुर्गा प्रसाईले पनि प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् । प्रसाईले सामाजिक सञ्जालमा ‘जेनजेडसँगै दुर्गा प्रसाई’ भनेर स्ट्याटस समेत लेखेका छन् ।
विभिन्न व्यक्ति र समूहले प्रदर्शनमा ऐक्यबद्धता जनाइरहेका छन् ।
नख्खु जेलबाट जेनजी प्रदर्शनलाई रवि लामिछानेको ऐक्यबद्दता
नख्खु जेलमा रहेका रास्वपा अध्यक्ष रवि लामिछानेले सोमबार माइतीघरमा जेनजीले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्दता जनाएका छन् । निजी सचिवालय मार्फत सूचना जारी गर्दै उनले भनेका छन्:
प्रिय Gen Z,
भोलिबाट तपाईँहरु सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईँहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ । शासकहरुले तपाईँहरुलाइ विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दु:ख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । सत्ता र शक्तिको नशामा चुर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरुलाई थाहा छैन, तपाईँहरुको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ । भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुनसक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईँहरुप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु ।
नेपो बेवी ट्रेन्ड
युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएकाले भीआईपीका छोराछोरीमाथि आक्रमण वा घरमा तोडफोड गर्न सक्ने आकलन प्रहरीको छ ।
ठुलो पदमा पुगेका बुवाआमाका कारण छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता छोराछोरीको विरोध गर्ने जनाएका छन् । अहिले यो ट्रेन्ड टिकटक लगायत सामाजिक संजालमा फैलिएको छ ।
सामाजिक संजालबाट सडकमा
केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले आन्दोलनको नेतृत्व लिने घोषणा गरेको छ । उनीहरूले सोमबार माइतीघर मण्डलामा आन्दोलन गर्ने घोषणा गरेको हो । सामाजिक संजालबाट भ्रष्टाचार,बेथिति र अनियमितता विरुद्ध उठेको उनीहरुको आन्दोलन अहिले सडकमा पुग्दैछ ।
वेक अप युथ,वेक अप जेनजीज् भन्ने नारा बोकेर सडकमा उत्रदैछन् । जेनजि भनिने पुस्ता करिब सन् १९९७ पछि जन्मिएका युवाहरूलाई जनाउँछ। यो पुस्ता प्रविधिमा अत्यन्तै अभ्यस्त छ र इन्टरनेट,सामाजिक सञ्जाल, मोबाइल एप्स र डिजिटल प्रविधिसँगै हुर्किएको पुस्ता हो।
खासगरी परिवर्तनका पक्षमा सक्रिय रहने र अन्याय,असमानता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँने जेनजि पुस्ताले ट्विटर, इन्स्टाग्राम, टिकटक जस्ता प्लेटफर्ममार्फत आफ्ना विचारलाई छिटो र विश्वव्यापी रूपमा फैलाउँछन्।
उनीहरुले सोमबार काठमाण्डौं लगायत देशका अन्य ठाउँमा पनि स्वस्फुर्त रुपमा प्रदर्शन गर्दैछन् ।