काठमाडौं, भदौ २३ :

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच भीआईपी निवासआसपासको क्षेत्रमा कर्फ्यु लगाएको छ। दिउँसो १ बजेदेखि राष्ट्रपति निवास, उपराष्ट्रपति निवास , नारायणहिटी दरबार संग्रहालय क्षेत्र र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो।

शीतलनिवास महाराजगन्ज क्षेत्रमा उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानअगाडिको चोकसम्म, पूर्वदक्षिणतर्फ सामाखुसी जाने मोडदेखि १०० मिटर दक्षिणसम्म र दक्षिण पश्चिमतर्फ सामाखुसी जाने मोडदेखि सामाखुसी खोलासम्म कर्फ्यु लागेको छ।

त्यसैगरी हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्रतर्फ केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्म कर्फ्यु लागेको छ।

नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटदेखि महेन्द्र शालिकसम्म कर्फ्यु जारी भएको छ।

यता सिंहदरबार क्षेत्रमा भद्रकाली मन्दिर (तीनकुने आइल्यान्ड) को पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूल गेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय माविको मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबार उत्तरपूर्वी मोड र सो मोडदेखि सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म र सिंहदरबार मूलगेट अगाडिदेखि दक्षिणतर्फ सर्वोच्च अदालत अगाडि हुँदै पुरातत्व विभागको चोकसम्म कर्फ्यु जारी भएको छ।

प्रशासनले संसद् भवन आसपासका क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिसकेको छ। प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा समेत भिड नियन्त्रणमा नआएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।