सरकारले निस्क्रिय बनाएको सामाजिक सञ्जालहरु सोमबार रातीबाट खुलाईएको छ ।
सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको पनि उनले बताए ।
सरकारले जेनजी पुस्तालाई आन्दोलन स्थगित गरी शान्ति सुव्यवस्था कायम गर्न सहयोगका लागि आग्रह गरेको छ ।
आन्दोलनमा आफ्नो अभिष्ट पूरा गर्ने उद्देश्यकले घुसपैठ गरी सार्वजनिक सम्पत्ति तोडफोड गरी अराजक मच्चाउने तत्वको पहिचान गरी घटनाको छानबिन गर्न यथाशीघ्र समिति गठन गर्ने निर्णय पनि सोमबारको मन्त्रीपरिषद्को बैठकले गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले आजको आन्दोलनमा मृतक भएकाको श्रद्धाञ्जली सहित परिवारजनमा समवेदना प्रकट गरेको बताए ।
जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका छन् । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि सरकार सामाजिक संजालमाथि लगाएको प्रतिबन्ध गर्ने निर्णयबाट पछि हटेको हो ।
सूचना,सञ्चार तथा प्रविधि मन्त्रालयले गत १९ भदौमा मन्त्री स्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।