
जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि सरकारविरुद्ध देशव्यापी प्रदर्शन चर्किएको छ । हिजोको गोली प्रहारको घटनाको विरोधमा देशव्यापी प्रदर्शन चर्चिएको हो ।
प्रदर्शनकारीहरुले काठमाडौंको चाबहिल, कोटेश्वर, सातदोबाटो, जोरपाटी,बालाजु,कलंकी, सितापाइला चोक लगायतका स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।
उनीहरुले नेताका निवासलाई निसाना बनाएका छन् । नेताका गाडीमा ढुंगामुडा गर्नुका साथै सरकारी कार्यालयहरुमा पनि आगजनी गरेका छन् । कर्फ्युका बाबजुद पनि उनीहरुले आन्दोलनलाई जारी राखेका छन् । प्रदर्शनकारीहरुले एमाले पार्टी कार्यालय,सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको निवास, एमाले नेता महेश बस्नेतको घरमा पनि आगजनी गरेका छन् ।
यसैगरी कांग्रेस नेता शेरबहादुर देउवाको निवासमा पनि आन्दोनकारीले तोडफोडको प्रयास गरेका छन् । उनीहरुले विहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा तोडफोड गरेका छन् । चाबहिललगायत विभिन्न स्थानमा रहेको प्रहरी बिटमा पनि तोडफोट र आगजनी गरेका छन् ।
काठमाडौं, भक्तपुर, ललितपुर लगायतका धेरै जिल्लाहरुमा कर्फ्यू तोड्दै आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । चोक-चोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।रौतहटको चन्द्रपुर नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन् । हिजोको तुलनामा आज सुरक्षाकर्मी निकै संवेदनशील बनेका छन् ।