काठमाडौं, भदौ २४ :

प्रधानसेनापति अशोक राज सिग्देलले पछिल्लो विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनका लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रम स्थगन गरी वार्तामा आउन आह्वान गरेका छन् ।

उनले आज भिडियो सन्देशमार्फत आन्दोलनका क्रममा हालसम्म धेरै जन धनको क्षति भइसकेको हुँदा थप क्षति हुन नदिन र शान्ति सुरक्षा अमनचयन एवं राष्ट्रिय एकता र शान्ति सुरक्षा कायम गर्नुपर्ने साझा दायित्वमा सहयोग गर्न आग्रह गरेका छन् ।

प्रधान सेनापति सिग्देलले वर्तमान असहज परिस्थितिलाई सामान्य गर्दै राष्ट्रिय एवं ऐतिहासिक सम्पदा एवं नागरिकको सम्पत्ति, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा नागरिकलाई सुरक्षाको प्रत्याभुति दिई राष्ट्रको सर्वोपरी हितको रक्षा गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।  

उनले नेपालको इतिहासदेखि नै मुलुकको स्वतन्त्रता सार्व भौमसत्ता,भौगोलिक अखण्डता,स्वाधिनता,राष्ट्रिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना कटिबद्ध रहँदै आएको स्मरण गराएका छन्।

नेपालमा हाल भइरहेको आन्दोलनका क्रममा हुन पुगेको जनधनको क्षति प्रति दुःख प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजन प्रति सहानुभूति प्रकट गरेका छन् ।