
देशमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देश भर निषेधाज्ञा र कर्फ्यु जारी गरिएको छ।
नेपाली सेनाले आन्दोलनका क्रममा भएको जन धनको क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै अपराध जन्य गतिविधि नियन्त्रणमा सहयोग गर्न सबैलाई अपिल समेत गरेको छ।
नेपाली सेनाले विज्ञप्ति जारी गर्दै आज बेलुका ५ बजेसम्म देश भर निषेधाज्ञा कायम रहने जनाएको छ । त्यसपछि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुने विज्ञप्तिमा उल्लेख छ । परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइने सेनाले बताएको छ।
निषेधाज्ञा र कर्फ्युका बेला एम्बुलेन्स, शव वाहन,दमकल,स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरू भने सञ्चालन हुन पाउनेछन्।
आवश्यक परे नजिकका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ । सबै आम नागरिकलाई अफवाहको पछाडि नलाग्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ। साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवन सामान्य बनाउन आ-आफ्नो दायित्व निभाउन पनि अपिल गरेको छ।
आन्दोलनको आडमा अराजक व्यक्ति र समूहले घुसपैठ गरी तोडफोड,आगजनी,लुटपाट,हिंसा र बलात्कारका प्रयासजस्ता क्रियाकलाप गरेको र गर्ने सम्भावना रहेकोले यो कदम चालिएको उल्लेख गरिएको छ ।
सेनाले आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड,लुटपाट,आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथिको आक्रमणलाई दण्डनीय अपराध मानिने र त्यस्ता क्रियाकलाप गर्ने माथि कडा कारबाही गरिने चेतावनी दिएको छ।
नेपाली सेनाले नेपाली जनताको सुरक्षा तथा मानवीय उद्धारमा सधैँ प्रतिबद्ध रहने विश्वास दिलाएको छ।