
राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा अनुगमनलाई निरन्तरता दिएको बताएको छ ।
आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरहरुमा भएको दुई दिनको प्रदर्शन पछि लगाईएको कर्फ्यु र निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति बुझ्ने काम गरिरहेको बताएको छ । साथै मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने काममा आयोग निरन्तरता लागिरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
साथै आयोगले कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन सबैमा आह्वान समेत गरेको छ ।
आयोगको अनुगमन अनुसन्धान कार्यमा आवश्यक सहयोग पुर्याउनुका सबैमा अनुरोध समे गरेको छ । मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा प्रदायकलाई आवतजावतमा सहजीकरण गर्न समेत आयोगे विज्ञप्ति मार्फत सम्बन्धित सबैमा आग्रह गरेको छ ।
लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्नेमा आयोग दृढ रहेको समेत बताउदै जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनु पर्नेमा आयोगले जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।