
प्रतीकात्मक तस्बिर ।
रामेछाप, भदौ २६ :
रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान कैदीहरूले विभिन्न च्यानलमा लगाइएको ताल्चा फोड्दै कारागारबाट भाग्ने प्रयास गर्दा स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउन बाध्य भएको जनाइएको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार, कैदीहरू सम्झाउँदा नमानेपछि बल प्रयोग गर्नुपरेको हो।
गोली लागेर दुई कैदीको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन्। अन्य १० जना कैदीहरू सामान्य घाइते भएका छन्। घाइतेहरूको हाल रामेछाप अस्पतालमा उपचार भइरहेको छ।
थापाका अनुसार अहिले कारागार सुरक्षाकर्मीहरूको पूर्ण नियन्त्रणमा छ। कारागारमा हाल १६ जना महिला र ३१८ जना पुरुष गरी कुल ३३४ जना कैदीबन्दी रहेका छन्।