काठमाडौं, भदौ २६ :

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा सर्वसाधारणको भीड लागेको छ।

आन्दोलनकारीले लगाएको आगो  निभिसकेपछि सर्वसाधारण केही हेर्न र केही खोज्न त्यहाँ पुगेका छन् । देउवाको घरमा कुनै महत्त्वपूर्ण वस्तु बाँकी छ कि भन्ने आशामा सर्वसाधारणहरू घरको खरानी पन्छाउँदै खोजतलासमा व्यस्त देखिन्छन्। 

कतिपयले मोबाइल फोन निकालेर फोटो र भिडियो खिचिरहेका छन्, भने केहीले घर वरपरको क्षेत्र हेरेर यो कस्तो आलिसान घर! भन्दै आश्चर्य पनि व्यक्त गरिरहेका छन्। घर जलेको केही दिन भइसक्दासमेत देउवा निवासमा सुरक्षा कडाइ गरिएको छैन। 

जनआक्रोश देउवाको निवासमा खनिएपछि घरमा आगजनी र तोडफोडबाट ठूलो क्षति पुगेको छ। यतिमात्र होइन दोउवा दम्पती पनि आन्दोलनकारीबाट कुटिएका छन् । उनीहरुको अहिले सुरक्षित स्थानमा उपचार भइरहेको छ ।