काठमाडौं, भदौ २६ :

जेनजी आन्दोलनका नेतृत्वकर्तामध्ये एक सुदन गुरुङले संसद् विघटन आन्दोलनको प्रमुख र पहिलो माग भएको स्पष्ट पारेका छन्। बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा  गुरुङले भने, ‘हामीहरू पुरानै संसदीय संरचना र विफल नेतृत्वबाट देश अघि बढ्ने पक्षमा छैनौं,’ भन्दै संसद् विघटनबिना राजनीतिक परिवर्तन सम्भव नभएको तर्क गरे।

संविधान खारेज होइन, परिमार्जनको आवश्यकता

उनले आफूहरू हालको संविधान खारेज गर्ने पक्षमा नभएको पनि प्रस्ट पारे। ‘संविधानले धेरै उपलब्धि दिएको छ, तर अहिलेको संकट समाधानका लागि संविधानको गहिरो पुनरावलोकन र परिमार्जन आवश्यक छ,’ गुरुङले भने।

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीको समर्थन

गुरुङले वर्तमान सरकार पूर्ण रूपमा असफल भइसकेको उल्लेख गर्दै अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की उपयुक्त हुने धारणा व्यक्त गरे। ‘हामी सुशीला कार्कीज्यूको नेतृत्वमा निष्पक्ष अन्तरिम सरकार बनोस् भन्ने पक्षमा छौं,’ उनले भने।

सरकारमा नजाने, निगरानीमा बस्ने

गुरुङले जेनजी नेतृत्वले सरकारको हिस्सा नबन्ने तर बाहिरैबाट निगरानी गर्ने रणनीति लिएको बताए। ‘हामी आन्दोलनकारी हौं, हामी सरकारमा गइहाल्ने होइन, तर जनता र संविधानको पक्षमा निगरानी र दबाब दिने काममा रहनेछौं,’ उनले स्पष्ट पारे।

पत्रकार सम्मेलनमा उनले पछिल्लो आन्दोलनका क्रममा भएको हिंसा र सार्वजनिक सम्पत्तिमा आगजनीप्रति खेद प्रकट गर्दै, ती कार्यहरू आन्दोलनको मूल उद्देश्यसँग असम्बन्धित रहेको पनि दाबी गरे। ‘हामी शान्तिपूर्ण आन्दोलनका पक्षधर हौं, हिंसामा हाम्रो निर्देशन थिएन,’ उनले स्पष्ट पारे।