काठमाडौं, भदौ २७ :

नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की अन्तरिम प्रधानमन्त्रीमा नियुक्त हुने पक्का भएको भन्दै शुभकामना दिएका छन्। उनले जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थालाई सम्बोधन गर्दै नेतृत्वले तत्काल लिनुपर्ने सात व्यावहारिक सुझाव सार्वजनिक गरेका छन्।

बस्नेतले सामाजिक सञ्जालमार्फत देशमा पुनः शान्ति र न्याय स्थापना गर्न प्रधानमन्त्रीको प्रमुख जिम्मेवारी रहेको उल्लेख गर्दै निम्न सात सुझाव दिएका छन्:

१. स्वतन्त्र छानबिन आयोग — ३० दिनभित्र प्रतिवेदनसहित मृतक र घाइतेका लागि न्याय सुनिश्चित गर्न।
२. राहत कोष — प्रभावित श्रमिक र परिवारका लागि सार्वजनिक–निजी साझेदारीमा।
३. कानुनी कारबाही — हिंसा र अपराधमा संलग्नलाई राजनीतिक प्रभावबिना।
४. संरचना सुरक्षाको व्यवस्था — निजी सम्पत्ति, विद्यालय, अस्पतालको सुरक्षा र बीमा दाबी छिटो टुंग्याउने।
५. रोजगारी पुनःस्थापना — कर छुट, अनुदान, सीप तालिम र रोजगार ग्यारेन्टी कार्यक्रममार्फत।
६. सेवा सुचारु — विद्यालय, कलेज र कार्यालय सञ्चालन; अस्थायी मोबाइल टोलीमार्फत सेवा वितरण।
७. पुनर्निर्माण पारदर्शिता — खर्च र समयसीमा सार्वजनिक गर्दै नागरिक समाजबाट निगरानी सुनिश्चित।

बस्नेतले सरकार शान्ति, न्याय र सहकार्यको माध्यम बन्नुपर्ने उल्लेख गर्दै चाडपर्वमा जनतामा उज्यालोसँगै आशा र भरोसा पनि फर्काउनुपर्ने बताए।