काठमाण्डौँ , असोज २ :

“कालजयी कृति, पाठकका निम्ति” भन्ने नाराका साथ साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु भएको छ । 

साझा प्रकाशनका पूर्वमहाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले आज केन्द्रीय कार्यालय पुल्चोकमा प्रदर्शनीको उद्‌घाटन गर्नुभयो ।

डा भट्टराईले पढ्ने संस्कृति हराउँदै गएको वर्तमान युगमा पुस्तक प्रदर्शनीले ठूलो योगदान पुर्‍याउने बताउनुभयो । 

विद्यालय, महाविद्यालय तथा क्याम्पसले विद्यार्थीलाई यस्ता प्रदर्शनीमा सहभागी गराउन सके राम्रो र यसले पुस्तकको सार्थकता वृद्धि हुनुका साथै लेखकलाई परिचित गराउन मद्दत पुर्‍याउने उहाँको भनाई छ ।

उहाँले पठन संस्कृतिको विकास हुनु भनेको शिक्षाको विकास हुनु भएको बताउनुभयो । शिक्षा र संस्कृतिमा मुलुक समृद्ध नभएसम्म आर्थिक समृद्धिले मात्रै पर्याप्त हुन नसक्ने उहाँको धारणा थियो ।

पठन संस्कृति विकासका लागि आज देखि सुरु प्रदर्शनी असोज १५ गतेसम्म सञ्चालन हुने साझा प्रकाशनका प्रशासकीय सहायक सुशील अधिकारीले जानकारी गराउनुभयो ।

साझाको केन्द्रीय कार्यालय पुल्चोक र देशभरका बिक्री कक्ष मार्फत २० देखि ८० प्रतिशतसम्म छुटका साथ पुस्तक बिक्री गरिने उहाँको भनाइ छ । 

प्रदर्शनीमा साझा प्रकाशनका दुई हजार दुई सय र अन्य प्रकाशनका गरी करिब पाँच हजार पुस्तक प्रदर्शनीमा राखिएको छ ।

साझा प्रकाशन नेपालको पुरानो प्रकाशन गृह हो । यस संस्थामा नेपाल सरकारको ६० प्रतिशत र बाँकी ४० प्रतिशत शेयर साहित्यकार, पत्रकार, शिक्षासेवी सहित सर्वसाधारणको रहेको छ ।