काठमाडौं, भदौ २७ :

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिनुअघि दुई कडा सर्त राखेकी छन्। संसद विघटन र जेनजी आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन हुनुपर्ने उनको अडान छ। यी सर्तहरू पूरा नभए आफू सरकारको नेतृत्वमा नआउने स्पष्ट सन्देश उनले शीतलनिवासमार्फत दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा सहमति जुट्न सकेन। कार्कीले अब वार्ताको नाममा शीतलनिवास नबोलाउन आग्रह गर्दै, आफू कुनै व्यक्तिगत आकांक्षाबाट प्रधानमन्त्री बन्ने पक्षमा नरहेको बताएकी छन्।

‘जे गर्छन्, जेनजीले गर्छन्। म मेरो इच्छाले प्रधानमन्त्री बन्न लागेको होइन,’ कार्कीको भनाइ स्रोतमार्फत सार्वजनिक गरिएको छ।

उनका अनुसार पुराना दलहरूले संसदलाई बलपूर्वक कायम राख्दै चुनावबाट भाग्ने प्रयास गरिरहेका छन्। संसदको आडमा अन्तरिम सरकारलाई असफल बनाउने र फेरि शक्ति कब्जा गर्ने रणनीति उनीहरूले अपनाउने खतरा कार्कीले औंल्याएकी छन्।

प्रधानसेनापति सिग्देल वार्ताको सहजीकरणमा सक्रिय छन्। तर, कार्कीले भने आफू वार्ता गर्ने पक्ष नै नभएको भन्दै अब कुनै अनौपचारिक छलफलमा नबस्ने अडान लिएकी छन्। सरकार गठनको प्रक्रिया जटिल मोडमा पुगेका छ ।