काठमाडौं, भदौ २७ :

जेनजी आन्दोलनको क्रममा मुलुकभर फैलिएको अराजकता र हिंसात्मक प्रदर्शनको फाइदा उठाउँदै देशका विभिन्न २६ वटा कारागारबाट झन्डै १३ हजार कैदी फरार भएका छन्। तीमध्ये हालसम्म करिब २ हजार ५ सय जना मात्र पुनः कारागार फर्किएको कारागार व्यवस्था विभागले जनाएको छ।

विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीका अनुसार आज दिउँसोसम्मको तथ्यांकअनुसार १२ हजार ८१७ जना कैदी कारागारबाट भागेका थिए। तीमध्ये २५ सयजना पुनः कारागारमा फर्किएका छन्। केही आफैं आएका हुन् भने केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

सोमबार र मंगलबार काठमाडौंसहित देशभर चलेको जेनजी आन्दोलनको उग्र प्रदर्शनका क्रममा प्रहरी र प्रशासनको ध्यान अन्यत्र रहेको बेला कैदीहरू सामूहिक रूपमा कारागारबाट भागेका थिए।

यसैबीच, ललितपुरको नक्खु कारागारमा सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि उक्त दिन रिहा भएका छन्।

कारागारले नै आफूलाई ‘सुरक्षा दिन नसक्ने’ भनेर पत्र थमाएको दाबी गर्दै लामिछाने रिहा भएका हुन्। उनले सार्वजनिक गरेको सो पत्रलाई लिएर व्यापक बहस र आलोचना सुरु भएको छ।

उक्त पत्रमा मिति सच्याइएको, प्रतिवादीको नाममा ‘रवि लामिछाने’को सट्टा ‘सुरेन्द्र राई’ लेखिएको, साथै उनी निलम्बित सांसद हुँदाहुँदै ‘माननीय’ भनी सम्बोधन गरिएको पाइएपछि कारागार प्रशासनको नियतमाथि प्रश्न उठाइएको छ।

टोपबहादुर पनि बाहिर, ‘बोलाए फर्कन्छु’

केन्द्रीय कारागार सुन्धारामा रहेका पूर्वमन्त्री टोपबहादुर रायामाझी पनि बाहिर निस्केका छन् । यद्यपि, उनले कारागार प्रशासनले बोलाउने बित्तिकै आफू पुनः उपस्थित हुन तयार रहेको बताएका छन्।कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भने उक्त पत्र र रविको रिहाइसम्बन्धी प्रक्रिया बारे आफू अनभिज्ञ रहेको बताए।