
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हालेकोमा सुशीला कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै यो शुभकामना दिएका छन् ।
"नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको पद भार ग्रहण गर्नु भएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई मेरो हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । भारत नेपालका जनताको शान्ति,प्रगति र समृद्धिको लागि सदैव प्रतिबद्ध रहनेछ"
भारतले गए राति नै पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई भारतले नेपालको शान्ति र स्थायित्वलाई सुदृढ पार्ने सकारात्मक कदमका रूपमा लिएको जनाएको थियो।
निकटतम छिमेकी,साझा लोकतन्त्र र दीर्घकालीन विकास साझेदारको रूपमा भारत नेपालसँग दुवै देश र जनताको समृद्धि र हितका लागि नजिकबाट सहकार्य गर्न प्रतिबद्ध रहेको भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।