काठमाण्डौं, भदौ २९ :

दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज सरोकारवालाबीच छलफल हुँदैछ । 

दशैं नजिकिएकाले काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि गर्ने भन्ने बिषयमा आज छलफल हुन लागेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी,ट्राफिक प्रहरीका प्रतिनिधि लगायतसँग अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज दिउँसो छलफल गर्न लागिएको बताईएको छ ।

वर्षाको अवस्था,शान्ति सुरक्षाको अवस्था सबै कुरालाई ध्यान दिएर यस बिषयमा निर्णय गर्नुपर्ने यातायात व्यवसीयीहरुको भनाई छ ।

जेनजी  प्रदर्शनको क्रममा भएको हिंसा,तोडफोड,आगजनीपछि कर्फ्यु हट्दै गए पनि शान्ति सुरक्षाको अवस्थामा यातायात व्यवसायीले आशंका व्यक्त गरेका छन्।  अझै संशय बाँकी नै रहेको भन्दै सवारी चलाउन सुरक्षित वातावरणको ग्यारेन्टी भए मात्रै अग्रिम टिकट बुकिङ खुलाउन तयार रहेको  यातायात व्यवसायीहरूले बताएका छन् ।

यस वर्षको दशैंको टीका असोज १६ गते परेकोले काठमाण्डौं बाहिर जान चाहनेहरुका लागि अब पनि अग्रिम टिकट खुलाईएन भने पछि बढी चाप पर्ने देखिन्छ ।